दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग भनेको मानिसको फोक्सोको साथै फोक्सोमा रहेका हावाका नलीहरू स्थायी रूपमा क्षति भएर (प्रायःजसो धूमपान गर्नाले) श्वास लिन र फ्याक्न कठिनाइ हुने अवस्थालाई भनिन्छ । दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोगको प्रक्रियालाई दम रोगको जस्तो औषधीले पूणर्रूपमा निको गर्न सक्दैन ।
फोक्सो सम्बन्धी रोगहरूमध्ये दीर्घ र पीडादायक यो रोगलाई अंग्रेजीमा COPD (Chronic Obstructive Pulmonary Disease) भनिन्छ र नेपालीमा दीर्घ श्वासप्रश्वास अवरोध रोग भन्ने गरिन्छ । फोक्सोको हावा लिने रफाल्ने मसिना प्वालहरूमा चुरोट बिँडीको धुवाँ, आगोको धुवाँको मुस्लोको खारलगायत धान, कोदो चुट्दा आउने, साथै सडकको धुलोका मसिना कणहरू श्वास तान्दा हावासँग फोक्सोमा गएर टाँसिन पुग्दछन् । हुन त हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले बाहिरी वस्तुहरूलाई परास्त गर्दछ तापनि लगातारको चुरोट, बिँडी जस्ता धूमपानका कारण फोक्सोमा हावा आदानप्रदान गर्ने हावानलीहरूमा कस लागेर साँगुरिन पुग्दछ । तापनि हामीमध्ये कतिलाई हुक्का वा सुल्पामार्पmत तमाखु, चुरोट खाने बानी परेको होला वा अर्काले खाएको पनि देखेका हुन सक्दछौं । हुक्का, सुमेरु, त्योसँगै जोडिएको पानी हाल्ने नरिवलको गट्टो वा पित्तलको पानीको भाँडो, त्यसमा नली लगाएर तमाखु खाँदा तमाखुको कसले सुमेरु, नरिवल वा पितलको पानी हाल्ने र नलीमा कति असर पारेको हुन्छ त्यो त हामी सबैले देखेकै छौं । त्यसैगरी हातले समाएर चुरोट तान्ने मानिसको औंला हेर्दा पनि कति गाढा कसले ढाकेको हुन्छ । त्यसबाट पनि धेरै कुरा विचार गर्न सकिन्छ । अब कल्पना गरौं चुरोट, बिँडी, तमाखुका कारण हाम्रो फोक्सोभित्रका हावानलीहरूमा कति कस जमेको होला त ? यसरी दीर्घकालसम्म धूमपान गरिरहने हो भने हाम्रो फोक्सोभित्रका नलीहरू कसले टालिन पुगेर सदाका लागि काम नलाग्ने हुन सक्छन् । त्यो तीतो यथार्थलाई मनन गरेरआजैबाट चुरोट, बिँडी, तमाखु, सुल्पा आफू पनि सेवन नगरौं र अरुलाई पनि सेवन नगर्न सल्लाह दिऔं । जानाजान आफ्नो खुट्टामा अाफैँले बञ्चरो हान्नु र धूमपान गर्नु एकै हो ।


स्राेत: राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।