शारीरिक व्यायाम भनेको ऊर्जा खपत गर्ने कुनै पनि किसिमको शारीरिक क्रियाकलाप हो जुन शरीरका अंगहरूको हलचलका कारण उत्पन्न हुन्छ । शारीरिक निष्क्रियता विश्वमा मानिसहरू बिरामी हुनुको प्रमुख कारणमध्ये चौथोमा पर्दछ र यसले गर्दा करिब ३२ लाख मानिसहरूको मृत्यु हुने गरेको अनुमान छ ।
हिजो आजको तनाव र व्यस्तताले भरिएको दैनिकी, शारीरिक व्यायामको कमी, अस्वस्थकरखानेकुरा र निष्क्रिय जीवनशैलीले मानिसहरूमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ । धेरैजसो मानिसहरू शारीरिक रूपमा निष्क्रिय हुँदै गइरहेको अवस्था छ र यो नसर्ने रोग लाग्नुको एउटा प्रमुख कारण बनेको छ । विभिन्न किसिमका विज्ञान, प्रविधि तथा यातायातमा भएको विकास सँगसँगै मानिसहरू दिन प्रतिदिन झन्-झन् निष्क्रिय हुन थालेका छन् । फलस्वरूप उच्च रक्तचाप, हृदयघात, मधुमेह, मोटोपना जस्ता जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका रोगहरू बढ्न थालेका छन् । नियमित शारीरिक व्यायामले शारीरिक रमानसिक रूपमा चुस्त र स्फुर्त राख्नुका साथै उच्च रक्तचाप, हृदयघात, मधुमेह, मोटोपनाजस्ता रोगहरूको रोकथाम र नियन्त्रणमा पनि महत्वपूणर् भूमिका खेल्दछ । यसले राम्रो निन्द्रा लाग्ने र चिन्ता र तनाव पनि कम गर्ने र मनोरञ्जन समेत प्रदान गर्दछ । यसको अतिरिक्त पर्याप्त रूपमा शारीरिक व्यायाम गरेमा यसले ढाड तथा शरीरका अन्य अंग बलियो वा मजबुत बनाउन मद्दत गर्दछ ।


स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।